नयाँपत्रीकाबाट
पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणालाई धम्की दिने जोडीले तीनपटक एसएमएस गरेको तथ्य खुलेको छ । प्रेरणालाई सम्मानजनक रूपमा एसएमएस गर्नेले बिहे-खर्च जुटाउन धम्की दिएको पनि सकारेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणालाई धम्क्याउने रुकुमका राजेश हमाल र दाङकी प्रतीक्षारत्न शाहलाई प्रहरीले पक्राउ गरेको छ । हमाल र शाहले आफ्नो बिहे-खर्चको जोहो गर्न प्रेरणालाई धम्क्याएको पुष्टि भएको छ । शाह प्रेरणाकै निजी सचिवका रूपमा कार्यरत थिइन् ।
हमालले प्रेमिका शाहसँग विवाह गर्ने भनेर २४ माघमा पक्का भएपछि प्रेरणालाई मोबाइलमार्फत एक करोड माग गर्दै रकम नदिए ज्यान मार्ने धम्की दिएका थिए । 'पार्टी’का लागि चन्दा भन्दै एक करोड माग गर्ने हमाल र उनलाई साथ दिने शाह दुवै महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । तर, कुनै पनि एसएमएसमा हमालले आफ्नो पार्टी खुलाएका छैनन् ।
पक्राउ परेका हमाल रुकुम नुवाकोट गाविसनिवासी हुन् । पक्राउ परेपछि उनले आफ्नो परिचय यार्चागुम्बा व्यापारीका रूपमा दिएका छन् । उनी लामो समयदेखि गोंगबुको दाङ-सल्यान गेस्ट हाउसको कोठानम्बर ३०३ मा बस्दै आएका थिए । प्रहरीले उनको साथबाट राष्ट्रिय सन्देश पत्रिकाको उप-सम्पादकको परिचय-पत्रसमेत फेला पारेको छ ।
प्रतीक्षा शाह प्रेरणाकी स्वकीय सचिव हुन् । नातामा उनी राजबहादुर सिंहकी भतिजी हुन् । प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण दाङ तारीगाउँनिवासी शाहलाई राजबहादुरले नै प्रेरणाकी सहयोगीका रूपमा नियुक्त गरेका थिए । उनी डेढ वर्षदेखि प्रेरणाकी स्वकीय सचिवका रूपमा कार्यरत थिइन् ।
महानगरीय प्रहरी अपराध महाशाखाले दुवैलाई १ मंसिरमा पक्राउ गरी कारबाहीका लागि काठमाडौं परिसर पठाएको छ । हमाल र शाहविरुद्ध मंगलबार नै प्रेरणाका तर्फबाट उनका श्रीमान् राजबहादुर सिंहले 'मेरी श्रीमती प्रेरणा सिंहलाई एसएमएस गरी ज्यान मार्ने धम्की दिएकाले कारबाही गरिपाऊँ' भन्दै परिसरमा जाहेरी दिइसकेका छन् । उनको जाहेरीका आधारमा प्रहरीले हमाल र शाहविरुद्ध कारबाही-प्रक्रिया सुरु गरेको छ ।
काठमाडौं परिसरको हिरासतमा रहेका हमालले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरिसकेका छन् । बयानका क्रममा उनले प्रहरीसँग भनेका छन्, 'माघमा विवाहको कुरा छिनियो । व्यापारमा १६/१७ लाख घाटा भयो । पैसा कमाउने बाटो केही थिएन । विवाह-खर्च जुटाउन एसएमएस गरेको, फसियो ।'
महानगरीय प्रहरी अपराध अनुसन्धान विभागका एसएसपी जयबहादुर चन्दका अनुसार हमालले ९८०८३१८०३१ नम्बरबाट २४ कात्तिक बिहान ११ बजे प्रेरणा सिंहको मोबाइलमा एसएमएस गरेका थिए । उनले आफ्नो पहिलो एसएमएसमा पार्टीका लागि चन्दा भन्दै एक करोड माग गरेका थिए ।
उनले निक्कै शिष्ट भाषामा एसएमएस पठाउँदै भनेका छन्, 'प्रेरणा सरकार ! नमस्कार, तपाईंले हाम्रो पार्टीलाई सहयोग गर्नुपर्यो । तपाईंको सचिवलाई मेरो मोबाइल नम्बर दिएर एक करोडका साथ गोदावरीमा पठाउनुहोला । नत्र तपाईंका श्रीमान् राजबहादुर सिंह र छोराको मौत हुनसक्छ ।'
धम्कीपूर्ण एसएमएस आएपछि सिंह परिवार तत्काल प्रहरीको सम्पर्कमा पुगेको थियो । एसएसपी चन्दले भने, 'प्रेरणाजीलाई एसएमएसबाट धम्की आयो भन्ने खबर महाशाखामा आएलगत्तै अनुसन्धान सुरु गरेका थियौँ ।'
प्रहरीले अनुसन्धानको प्रारम्भ प्रेरणाको मोबाइलमा एसएमएस आएको मोबाइल नम्बरबाट सुरु गरेको थियो । अनुसन्धानका क्रममा धम्की दिन प्रयोग भएको सिम एक महिनाअगाडि मात्र दीपक हमालका नाममा झिकिएको फेला परेको थियो ।
हमालले सिम पहिलोपटक प्रेरणालाई धम्क्याउन प्रयोग गरेका थिए । प्रहरी सिमधनीको खोजीमा जुट्दाजुट्दै दुई दिनपछि २६ कात्तिकमा पुनः प्रेरणाको मोबाइलमा दोस्रो एसएमएस आयो । दोस्रो एसएमएसमा एक करोड चन्दा रकमका बारेमा स्मरण गराउँदै लेखिएको थियो— सरकार ! हाम्रो एसएमएस पाउनुभयो कि भएन ? एसएमएस पाएर पनि नटेरेको ? श्रीमान् र छोराको माया छैन कि क्या हो ?
अनुसन्धानमा जुटेको प्रहरीले प्रेरणालाई धम्क्याउन प्रयोग भइरहेको मोबाइल नम्बरबाट २७ गते नेपालगन्जमा फोन गरेको विवरण पत्ता लगायो । यहीबीचमा नेपालगन्जबाट हमालको मोबाइलमा 'कल मी' भन्ने सन्देशसमेत आएको थियो ।
अनुसन्धान क्षेत्र काठमाडौंबाट नेपालगन्जतिर तेर्सिएपछि अपराध महाशाखाबाट प्रहरी निरीक्षकको टोली नेपालगन्ज हान्निएको थियो । २९ गते प्रेरणाको मोबाइलमा पुनः तेस्रो एसएमएस आयो । जसमा माग गरिएको चन्दा रकम नदिए परिणाम राम्रो नहुने चेतावनी दिइएको थियो । एसएमएसमा लेखिएको थियो, 'तपाईंले एसएमएसको वास्ता गर्नुभएन । तपाईंलाई श्रीमान् र छोराको माया रहेनछ । त्यसको परिणाम राम्रो हुन्न ।'
प्रहरी हमालले कल गरेको नम्बरका आधारमा अनुसन्धानका लागि नेपालगन्ज पुग्यो । नेपालगन्जको कोहलपुरमा दस जोड २ पढ्दै गरेका दीपक हमाल फेला परे । तर, उनले मोबाइल नम्बर आफ्ना नाममा भए पनि काठमाडौंमा बस्ने काकाले प्रयोग गर्ने गरेको बताए ।
अनुसन्धान-प्रक्रियामा प्रहरी व्यापारी बनेको थियो । एसएमएस गर्ने मूल व्यक्तिसम्म पुग्न प्रहरीले अभियुक्त हमालको भतिजालाई नै काकालाई फोन गरेर 'व्यापारीहरू भेट्न खोजिरहेका छन्' भन्ने सन्देश दिएका थिए ।
योजनाअनुसार नै अनुसन्धानमा जुटेका प्रहरीले हमाललाई फोन गरे । उनले आफू दाङमै भएको बताएका थिए । तर, पुनः भतिजालाई फोन गराउँदा उनी काठमाडौंमै रहेको रहस्य खुलेपछि नेपालगन्ज पुगेको प्रहरी-टोलीले काठमाडौंको प्रहरी-टोलीलाई हमालका बारेमा जानकारी गराएको थियो ।
काठमाडौंको टोलीले १ मंसिरमा व्यापारिक कामका सिलसिलामा भेट्न हमालसँग आग्रह गर्यो । उनले व्यापारी बनेका प्रहरीलाई गोपीकृष्णछेउमा बोलाए । तत्काल महाशाखाको टोली हान्निएर गोपीकृष्ण पुग्यो । 'हाम्रा केटाहरू गोपीकृष्ण पुग्दा सँगै केटी (प्रतीक्षारत्न) पनि थिइन् । दुवैलाई पक्राउ गरी केरकार गर्दा उनी प्रेरणाकी स्वकीय सचिव रहेको रहस्य खुल्यो,' एसएसपी चन्दले भने ।
पक्राउ परेलगत्तै हमालले धम्क्याउन प्रयोग भएको सिम आफ्नो भएको स्वीकार गरे पनि सो सिम हराएको दाबी गरेका थिए । उता, हमालसँगै पक्राउ परेकी प्रतीक्षा आफूलाई केही थाहा नभएको बताइरहेकी थिइन् । केरकारका क्रममा हमालले २ मंसिरमा आफ्नो अपराध स्वीकार गर्दै एसएमएस आफैँले पठाएको बयान दिएका थिए ।
प्रहरीले अन्य सहयोगीको खोजी गरे पनि हमालले प्रेरणा शाहलाई आफू एक्लैले धम्क्याएको बताएका छन् । उनले यार्चागुम्बाको व्यापारमा घाटा लागेको र विवाहको मितिसमेत तोकिएकाले रकमको जोहो गर्न प्रेरणालाई धम्क्याएर रकम असुल्ने प्रयास गरेको बताएका छन् ।
प्रेरणाकी स्वकीय सचिव प्रतीक्षाले भने घटनाका बारेमा आफूलाई कुनै जानकारी नभएको दाबी गरिरहेकी छिन् । तर, पहिलो एसएमएसमै हमालले एक करोड रकम स्वकीय सचिवमार्फत गोदावरीमा पठाउन भनेकाले एसएमएसकाण्डमा उनीसमेत सहभागी भएको निष्कर्ष निकालेर प्रहरीले दुवैविरुद्ध मानव-अपहरणमा कारबाही-प्रक्रिया अगाडि बढाएको छ ।
Browse » Home » » राजेश हमालले धम्काउदै एक करोड मागे ज्ञानेन्द्रकी छोरीसँग
Wednesday, November 19, 2008
राजेश हमालले धम्काउदै एक करोड मागे ज्ञानेन्द्रकी छोरीसँग
लौ चिन्नुस्-४ को नतिजा
लौ चिन्नुस्-४ अन्तर्गत गुल्मीन्युजमा राखिएको तस्बिर आँपचौर गाविसको इन्द्रेगौँडामा अवस्थित राधाकृष्ण मन्दिरको हो । तस्बिर उपलब्ध गराइदिनुभएकोमा भोजराज भण्डारी ज्यूप्रती आभार ब्यक्त गर्दछु । पहिलो सही जवाफ पठाउनुहुने लक्ष्मण भण्डारी, रुपाकोट (हाल: फिन्ल्यान्ड) लाई बधाई । त्यसैगरी सही जवाफ पठाउनुहुने मित्रहरु लब थापा, शंकर भण्डारी, ईन्द्र भट्टराई, छबी सुर्यबंशी, गोपाल भण्डारी, खजराज घिमिरे, खिम बहादुर खासु, पूर्णभद्र खराल, हरी खराल, नारायण, चिन्तामणी घिमिरे, अशोक सापकोटा, डिल्लिराज अर्याल, हुमनाथ पन्थी लगायत सही उत्तर मिलाएर पनि आफ्नो नाम लेख्न बिर्सिनुहुने मित्रहरु साथै उत्साह्पूर्ण सहभागीता जनाउनुहुने सम्पूर्ण महानुभावहरुलाई धेरै धेरै धन्यवाद ।
