म को हुँ?
म सन्जु काउछा मगर हुँ । खास मेरो नागरिकता, पासपोर्ट र शैक्षिक प्रमाणपत्रहरुमा अर्कै नाम भए पनि घर परिवार, साथीभाइ र इष्टमित्रहरुले मायाले बोलाउने नाम भने सन्जु नै हो । मैले ब्लग यही नामबाट पोष्ट गर्ने गर्दछु ।
मेरो घर कहाँ हो? म कहाँ बस्छु ?
मेरो बुवा भारतीय सेनाको जागिरको क्रममा मेरो जन्म भारतको कुनै स्थानमा भएपनी म खेले-हुर्केको ठाउँ गुल्मीको हरेवा अनी तुराङ, मजुवा हो । अहिले पनि मेरो घर मजुवामै छ । तर म भने हाल देश बाहिर छु ।
म के गर्दै छु?
म अहिले बिजनेस एड्मिनिस्ट्रेसन पढ्दै छु । बिदेशी भुमिमा यसै खान बस्न त कस्लाई पुग्छ र ? त्यही भएर हात मुख जोर्न सानो तिनो काम पनि गर्दै छु । पढेर र काम गरेर बचेको समयमा ब्लग पनि चलाऊदै छु ।
म कती बर्षको भए?
मैले कती पढेको छु ?
म अझै पनि पढ्दै छु । नेपालमा पाँच बर्षे आमसन्चार तथा पत्रकारिताको पढाई पस्चात अहिले भने बिजनेस एड्मिनिस्ट्रेसन पढिरहेको छु ।
मैले ब्लग कसरी शुरु गरेँ?
शुरु-शुरुमा त रहरै रहरमा ब्लग ठेगाना दर्ता गराइयो । काठमाडौंमा फुर्सदको समय कटाउने गरी ब्लग खोलेको थिए । हप्तामा मुश्किलले २-३ पटक अप्डेट हुन्थ्यो । पछी बिदेश तिरबाट धेरै जनाले हेर्न थालिसक्नुभएको रहेछ अनी त बन्द गर्नै मिलेन ।
कहिले देखी शुरु भएको हो त यो ब्लग?
२००७ को जुलाई देखी
म किन चलाऊछु यो ब्लग ? दाम, नाम या कामका लागि ?
के का लागि भन्नु खोइ ? ब्लग त नशा बनिसकेको छ । दामका लागि भनुँ भने यत्रो चार बर्षमा मैले यो ब्लगबाट अझसम्म १ सुको हात पारेको छैन । बरु उल्टै खल्ती बाट झिकेर खर्च गर्नु परेको छ । मासिक ४०-५० युरो त ईन्टरनेट बिल मै खर्च हुन्छ त्यस बाहेक पनि डोमेन रजिस्ट्रेसन, नविकरण लगायतका खर्च त छँदै छ ।
अर्को कुरा, मैले ब्लग चलाएर नामै कमाउछु, ठुलो मान्छे बन्छु भनेर यो ब्लग चलाएको पनि हैन । तर पनि भिजिटरहरुले सम्झिनुहुन्छ बेला बेलामा फोन गरेर, एसएमएस गरेर, ईमेल गरेर । उहाँहरु प्रती आभारी छु ।
अब कुरा आयो कामका लागि, कुनै उद्देश्यका साथ घर-परिवार र देशै छोडिसकेपछी काम कामका लागि मात्र नभएर केही अर्थमा मामका लागि पनि हुनुपर्यो नि होइन र ?
ब्लगका लागी सहयोग ?
सबै भन्दा ठुलो सहयोगी त तपाईं पाठकहरु नै हुनुहुन्छ । नियमित रुपमा ब्लग भिजिट गरिदिएर अनी सल्लाह सुझाबहरु दिएर सहयोग पुर्याइराख्नु भएको छ । त्यसपछी गुल्मीमै रहने संचारकर्मी र संचारमाध्यमहरुले पनि ठुलै गुण लगाउनुभएको छ, गुल्मीन्युजलाई । अरु सहयोग अनियमित रुपमा फाट्टफुट्ट साइटमा रहेका गुगल विज्ञापनमा हुने क्लिक ।
ब्लगका लागी आवश्यक सामाग्री कसरी उपलब्ध हुन्छ ?
गुल्मीन्युजका शुभचिन्तकहरुको स्वंसेवीय रिपोर्टिङ प्रमुख माध्यम हो । कान्तिपुर गुल्मीका घनश्याम गौतम, रेडियो स्काईका समाचार प्रमुख शिवलाल सुबेदी, रेडियो गुल्मीकी समाचार प्रमुख गगनशिला खड्का, रेडियो रेसुङ्गाका समाचार प्रमुख पिएम मगर त्यसै गरी जनार्दन घिमिरे, तारा भुषाल, सिता भण्डारी, सन्जु थापा, प्रतिक्षा शर्मा, बिष्णु पौडेल, मनोज बस्नेत, शोभा आचार्य लगायतका मित्रहरुले gulmidarshan@gmail.comमा सहयोग स्वरुप पठाइदिनुभएका सामाग्री नै गुल्मीन्युजमा प्रकाशित हुने गर्दछन । त्यसबाहेक नेपाली राष्ट्रिय दैनिकहरु र अन्लाईन पोर्टलमा प्रकाशित सामाग्रीहरु पनि स्रोत खुलाएर गुल्मीन्युजमा राखिन्छ ।
कस्ता सामाग्रीहरु हुन्छन यस ब्लगमा ?
गुल्मी र गुल्मेलीहरु प्रती पूर्ण रुपमा समर्पित यस ब्लगमा गुल्मीका ग्रामीण गतिबिधिहरु, बिकास निर्माण र जनचासोका बिषयहरु, जिल्ला जानकारी, सुचना, सामाजिक घटनाक्रमहरु लगायतका थुप्रै जानकारीमुलक तथा मनोरन्जनात्मक सामाग्रीहरु समेटिन्छन ।
तपाईं के गर्न सक्नुहुन्छ, गुल्मीन्युजको लागी ?
ब्लग , समाचार, फोटो, भिडियो, जानकारी, साहित्यीक रचना आदी पठाउन सक्नुहुन्छ । त्यसैगरी कमी कमजोरी औँल्याइदिएर सल्लाह, सुझाब, गाली या ताली पनि पठाउन सक्नुहुनेछ । साथै अन्य जुनसुकै किसिमको सहयोगको लागि पनि बाटो खुल्ला छ ।
मन पर्दैन भने ?
तपाईंलाई यो ब्लग मन पर्दैन भने पनि ठिकै छ । त्यो पनि तपाईंको अधिकारको कुरा हो । मन पराउनै पर्छ भन्ने जबर्जस्ती पनि छैन नि हैन ? यदी त्यसो हो भने ब्लग नहेर्दा नै उत्तम होला, कि कसो ?
मलाई कसरी संपर्क गर्ने त ?
फोन वा एसएमएस गर्न: +३५८४४२०२१३८५
Skype: gulminews.com
ईमेल गर्न: gulmidarshan@gmail.com
info@gulminews.com
चिठी पठाउन: त्यसको लागि पहिला मलाई ईमेल पठाउनुहोला अनी तपाईंकै ईमेलमा दिन्छु नि मेरो ठेगाना ।


