Saturday, November 14, 2009

बेरोजगार घोडालाई मासिक १५ हजार

घनश्याम गौतम
बिनाकामको एक घोडालाई सरकारले मासिक १५ हजारभन्दा बढी रुपैयाँ खर्च उपलब्ध गराउँदै आएको छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर जिल्ला प्रहरी कार्यालयमा रहेको एक घोडालाई उपभोगबिना पनि यति धेरै लगानी गरी पालिँदै आएको हो ।

उक्त घोडाको मासिक खाना खर्च मात्र नौ हजारभन्दा बढी रहेको रासन ठेकेदार वीरेन्द्र भुसालले बताए । त्योबाहेक रेखदेख र हेरचाहका लागि सरकारले एक जना 'सयस' (घोडा हेर्ने व्यक्ति) को छुट्टै व्यवस्था गरेको छ । दुवैको खर्च जोडदा मासिक पन्ध्र हजार पुग्ने प्रहरी कार्यालयले जनाएको छ । तर घोडा भने बिहान उज्यालो भएदेखि साँझ घाम नअस्ताउँदासम्म सदरमुकाम तम्घासका विभिन्न सडक र चौरहरूमा डुल्ने गर्छ ।

कार्यालयका लेखापाल सन्तोष बरालले सरकारको निर्णयबिना सुरक्षितसाथ पाल्नेबाहेक केही गर्न नसक्ने जानकारी दिए । '२०६२ सालमा बिक्रीका लागि दुई पटक टेन्डर आह्वान गर्दा पनि कसैले आवेदन नदिएपछि बिक्री हुन नसकेको हो,' उनले भने । यस घोडासम्बन्धी जानकार स्थानीय ताराप्रसाद भुसालका अनुसार २२ वर्षअघि यो गुल्मी र अर्घाखाँचीमै कहलिएको थियो । सवारीसाधन नपुग्ने ग्रामीण क्षेत्रको अपराध नियन्त्रण र तत्काल अनुसन्धानमा खटिन सुरक्षाकर्मीको सुविधाका लागि घोडा उपलब्ध गराइएको थियो । सोही प्रयोजनअन्तर्गत २०४४ सालमा किनिएका दुई घोडामध्ये एकको ६ वर्षअघि मृत्यु भएको थियो । दुई जिल्लामै नाम चलेको घोडा भएकाले त्यतिबेला अर्घाखाँचीका दुर्गाप्रसाद बञ्जाडेसँग २५ हजारमा खरिद गरिएको थियो । यातायात सुविधा बढ्दै गएकाले घोडाको उपयोग हुन नसकेको प्रहरी नायब उपरीक्षक पदमप्रसाद सुवेदीले बताए । कानुनी प्रक्रिया पुर्‍याएर लिलाम गर्न वा स्वीकृति लिएर जंगलमा पठाउन सकिए उपयुक्त हुने प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले बताए ।


लौ चिन्नुस्-४ को नतिजा

लौ चिन्नुस्-४ अन्तर्गत गुल्मीन्युजमा राखिएको तस्बिर आँपचौर गाविसको इन्द्रेगौँडामा अवस्थित राधाकृष्ण मन्दिरको हो । तस्बिर उपलब्ध गराइदिनुभएकोमा भोजराज भण्डारी ज्यूप्रती आभार ब्यक्त गर्दछु । पहिलो सही जवाफ पठाउनुहुने लक्ष्मण भण्डारी, रुपाकोट (हाल: फिन्ल्यान्ड) लाई बधाई । त्यसैगरी सही जवाफ पठाउनुहुने मित्रहरु लब थापा, शंकर भण्डारी, ईन्द्र भट्टराई, छबी सुर्यबंशी, गोपाल भण्डारी, खजराज घिमिरे, खिम बहादुर खासु, पूर्णभद्र खराल, हरी खराल, नारायण, चिन्तामणी घिमिरे, अशोक सापकोटा, डिल्लिराज अर्याल, हुमनाथ पन्थी लगायत सही उत्तर मिलाएर पनि आफ्नो नाम लेख्न बिर्सिनुहुने मित्रहरु साथै उत्साह्पूर्ण सहभागीता जनाउनुहुने सम्पूर्ण महानुभावहरुलाई धेरै धेरै धन्यवाद ।
-गुल्मीन्युज

Advertisement