नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

म राजीनामा दिन्न : प्रधानमन्त्री

Posted By Admin on Monday, June 25, 2012 | 7:38:00 PM



काठमाडौं, असार ११- प्रधानमन्त्री बाबुराम भट्टराईले कुनै पनि हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन् । ‘मैले राजीनामा दिनुपर्ने कुनै कारण छैन,’ ब्राजिलमा सम्पन्न रियो–२० बैठकमा सहभागी भएर आज स्वेदश फर्केका प्रधानमन्त्री भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग भने, ‘मेरो राजीनामा आउँदैन, अब यही सरकारले चुनाव गराउँछ ।’
उनले आफ्नो सरकारलाई कसैले हटाउन नसक्ने दाबी गरे । ‘यो सरकारलाई हटाउन सक्ने कुनै संवैधानिक आधार छैन,’ उनले भने, ‘यदि हटाउन खोजे मुलुक फेरि द्वन्द्वमा प्रवेश गर्छ, त्यो भनेको माघ १९ को जस्तै कु हुन्छ ।’
आफ्नो राजीनामा मागेर कांग्रेस र एमालेले बालहठ देखाएको आरोप पनि उनले लगाए । ‘यो सरकार हट्ने भनेको चुनावपछि मात्रै हो भन्ने बुझीबुझी कांग्रेस, एमालेले सहमतिमा ढिला गरेका छन्,’ उनले भने, ‘यो खेलौना नपाएर कराइरहने  बालहठ जस्तै हो ।’
उनले दलहरुसँग चुनावमा जानुको विकल्प नभएको पनि बताए । ‘संविधानसभा पुनस्र्थापना कुनै पनि हिसाबमा सम्भव छैन,’ उनले भने, ‘चुनावको विकल्प छैन ।’
अर्को एक प्रश्नमा पूर्ण बजेट सकेसम्म सहमतिमा ल्याउने नभए प्रक्रियामा गएर अध्यादेशमार्फत आउने उनको भनाइ थियो । बजेट रोक्ने पक्षमा सरकार नरहेको पनि उनले बताए ।
रियो–२० सम्मेलनमा नेपालको सहभागिता फलदायी र उपलब्धिमूलक भएको पनि उनले बताए । पर्वतीय मुलुकको बैठक, अति कम विकसित मुलुकको बैठकमा नेपालको प्रस्तुति राम्रो रहेको पनि उनले जानकारी दिए ।
सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग पनि भेटवार्ता भएको र भारतीय समकक्षीले संविधान निर्माण प्रक्रियाले निरन्तरता पाउने विश्वास व्यक्त गरेको उनले बताए । ‘भारतीय प्रधानमन्त्रीले नेपालका बारेमा गहिरो चासो, चिन्ता र जिज्ञासा राख्नुभयो,’ उनले भने, ‘मैले सहमति, सहकार्य र एकताबाटै समाधान खोज्ने जानकारी दिएँ ।’
एकीकृत माओवादीको पार्टी विभाजनबारे सोधिएको प्रश्ना उनले श्रीमान–श्रीमतीको झगडाजस्तो  भएको टिप्पणी गरे । ‘यो फुटको कुनै औचित्य छैन,’ उनले भने, ‘पछि उहाँहरु एकीकृत माओवादीमै फर्कनुहुन्छ ।’ रिपोर्टस नेपाल डट कम

ENTSEC

भिडियो समाचार
सेलिब्रेटीसँग गफगाफ
नयाँ लोक दोहोरी गीतहरु
मनोरन्जन
टक शो
 
Related Posts Plugin for WordPress, Blogger...