नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

तम्घासमा लुगा सिलाउने कालिगढको अभाव, भारतबाट ल्याउनुपर्ने बाध्यता

Posted By Admin on Saturday, August 4, 2012 | 7:50:00 PM



प्रेम सुनार
साउन २०, गुल्मी । त्यसो त सधै कपडा सिलाउने कालिगढको अभाव खड्किदै आएको गुल्मीको सदरमुकाम तम्घासमा यतिबेला तिज नजिकिँदै गर्दा कालिगडको थप अभाव खड्किन थालेको छ । यहाँका भण्डै २ दर्जन बढि सिलाई पसलेको समस्या एउटै छ, काम छ सिलाउने कालिगढ छैनन् । स्थानिय परियार समुदाय आफ्नो परम्परागत पेशा छाडेर अन्य मजदुरी र देश–प्रदेश पलायन हुने क्रम बढेका कारण यस्तो स्थिती आएको हो । बर्षेनी कहिले घरेलु, कहिले जिविसले महिला दलित, जनजाती, लगाएतको लक्षित समुदायका मानिसहरुलाई सिलाई कटाई तालिम दिलाउँदै आएपनि दक्ष तालिमको अभावमा त्यो तालिम औपचारिकतामै सिमित भई प्रभावहिन बनेको छ । तालिममा सहभागि बनाएर बर्षेनी नयाँ मानिसको मन मात्रै राख्ने गर्नु भन्दा त्यसै मानिसलाई थप तालिम दिएर दक्ष बनाउन सके सिलाउने मानिसको अभाव नहुने तम्घास–७ कि सोनु सुनारको धारण छ । "मैले दलितको संस्थाबाट तालिम लिएँ", उनले भनिन्– "अहिले त्यसले नपुगेर आफै पैसा खर्चेर थप तलिम लिँदै छु ।" बर्षेनी ५०-६० जना कपडा सिलाउने जनशक्ती तयार गर्दै आउनु भउकी तम्घासस्थित प्रगति सिलाई कटिङ्ग तालिम केन्द्रकी सञ्चालिका अमृता शर्माको यस्तो धारणा छ, "एकचोटी तालिम दिएको मानिसलाई निपुर्ण बनाएर मात्रै अरुलाई दिनु पर्दछ ।" "मैले थुप्रैलाई तालिम दिएँ", उनले भनिन् "ति मध्ये केहि स्वरोजगार बने पनि धेरैले बिर्सिसके ।"
कपडा सिलाउने स्वतस्फुर्त सिपका धनी परियारहरु परम्परागत पेशाबाट पलायन हुँदै र अन्य समुदाय आकर्षित हुँदै जानुको कारक सामाजिक उपेक्षा र वालिघरे प्रथा हो भन्ने कुरा जगजाहेर नै छ । दुरदराज गाउँको कुरा नगरौ यसै सदरमुकाम नजिकै तम्घास–९ का मानबहादुर दर्जी गत ५० बर्षदेखी वालिघरेमा गाउँका कपडा सिलाउनु भयो तर सिलाउने मेशिन बिग्रेर महिनौंसम्म खाली बस्नु पर्‍यो । बल्ल उहाँलाई दलित वर्ग उत्थान जिल्ला समन्वय समिति गुल्मीले एक थान मेशिन दियो र काम पुन: सुरु गर्नु भएको छ । उहाँ सहित त्यस वडामा वालिघरेमा काम गर्ने १० घर दलित सुकुम्वासी रहेको स्थानिय दलित अगुवा कृष्ण नेपालीले बताउनु भयो ।
मोची समुदायको जुत्ता सिलाउने पेशा त झनै लोप हुँदै गएको नेपालीको भनाई छ । उता यसै सदरमुकामबाट मात्र आधा घण्टाको दुरीमा पर्ने दुविचौर–८ का ७० बर्षिय भक्तबहादुर दर्जीको अवस्था पनि उस्तै छ । गत चैत्र महिनामा घर जलेर दर्जीको सिलाउने मेशिन र वजाउने बाजा समेत नष्ट भयो । मेशिन त जिविसले दियो, बाजा भने किन्ने अवस्था छैन । बस्ने वास मात्रै भएका दर्जीको बिहान बेलुकाको छाक टार्ने आयस्रोत त्यही हो । "आँखा देख्ने वेलासम्म वालिघरेमा दिन विताईयो", दर्जीले भने "अहिले आँखा देख्न छाडेपछि बल्ल आँखा खुलेको छ ।"
भक्तबहादुर जस्ता दर्जीहरुको अबस्था यस्तो छ तर काम पाएका छन् भारतिय नागरिकहरुले । टेलर पसल खोल्नेहरु सुनौली पारीका कटिङ्ग मास्टर खोज्न जान्छन् । नेपालीले गर्ने, छाड्ने र धोका दिने समस्या पनि छ भन्छन व्यावसायीहरु । तम्घासकै मिलनचोकमा हालै लुम्विनी टेलर खोलेका धर्म विश्वकर्मा कालिगढ खोज्दा थकित हुनु पर्यो । "पछिल्लो पटक कपिलवस्तु गएर मास्टर ल्याएर आएँ", उनले भने, "काम चल्छ, गर्ने मान्छे छैन।" उस्तै समस्या दर्शाउँछन् सरिता तयारी पोशक उद्योगका मालिक श्रवणकुमार परियार, मोहन टेलर र लक्ष्मण टेलर लगायतका व्यवसायीहरु । मासिक १५ देखि ५० हजारसम्म कमाउने यो पेशामा जनशक्तीको यस्तो अभाव छ अनि किन जाने त ऋण काढेर मासिक १०-१५ हजार कमाउन विदेश ?

 
Related Posts Plugin for WordPress, Blogger...