एक्लिएका गाउँहरु…

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
तिहारको दिन पनि गाउँमा मादल बजेको छैन् । न गाउँमा मादल बनाउने सालघारीका दाईहरु छन्, न मादल बजाउने युवाहरु । बिस्तारै एक्लिएका गाउँहरु किन उत्साहित र मनमोहक छैनन । प्रश्न आफैलाई गरेको छु । घरहरुका वरिपरि र बारीमा मखमली अनि सयपत्री मगमगाएको देख्छु ।
तर टिप्ने दिदि बहिनी छैनन गाउँमा । मेरो गाउँको नाम ढुंग्याना (बाहुन टोला) । १२ घरका सवै दाजुभाई तथा दिदि बहिनी आउँथे यो बेला । दशै, तिहार र तिज कति रोमाञ्चक र आत्मिय थिए । धेरै बर्ष भयो पैयारुखे माइला बा तराई झरेको । जिर्ण घरमा ताल्चा ठोकिएको छ । बुढारे ठुलो बुवाले पनि गाउँ घर छोडेको निकै बर्ष भयो ।
ज्योतिष माइला बुवा हामी माझ हुनुहुन्न । एक्लो घर आत्मियताको पखाईमा छ । उहाँहरु संगै परिवारका सवै सदस्य यस गाउँको अतिथी जस्तै भए । पैयाँरुखे बिक्रम दाई, भुपाल दाई, झवु दाई र तिलक दाई अनि गोपाल दाजु प्रदेशमा हुनुहुन्छ । जमना हिजोको जस्तो छैन । कलकल मुहानको पानी दैलोमै खस्छ । गाउँ टोलमा मान्छेहरु थिए । दुःख सहेर पनि गाउँमै सन्तोषको दैनिकी काट्थे उनीहरु तर, आज खाली गाउँ सुनसान छ ।
पैडाँडा, बर्लेघाट, किराखोर र मौलीपोखरा कति रमणिय थिए । बिराना बस्तीहरुमा न्याउली रोएको सुनिन्छ, उमेर काटेका बुढा पाका भेटिन्छ । लेकाली हावाको चिसो हावाले स्पर्श गर्छ । सुख सयल, ऐस आराम र भोगको जिन्दगी जिउन चाहाने युवा पुस्ता सबैले गाउँको माया मारे र झरे बेँसी, टारी र सहरतिर ।
मेरो गाउँ मात्र होइन, धेरै बस्तीहरु साँच्चिकै खाली हुँदै गएका छन् । रित्ता घरहरु, बाँझा बारी, उराठ बस्तीहरु र बिर्सिएका पँधेराहरु देख्दा त्यहाँ पुग्ने जो कोहीको मन भक्कानिन्छ । विभिन्न क्षेत्रका प्रत्येक घरका सदस्य वैदेशिक रोजगारका लागि विभिन्न मुलुक पुगेका छन् । आर्थिक अवस्था बिस्तारै मजबुत बन्न थालेका परिवारहरु उहि अवस्थामा सुविधा भोगी भैरहेका छन् । परिवार र बालबच्चाको भविष्यकै नाममा परिवार फुटेका छन् । त्यो मात्र कति परिवारमा सासु बुहारी वा बाबु छोरोका मन छुटेका छन् अनि टुक्रिएका छन् । गाउँमा बाउले खेलता पाउँदैनन, शहर पसेको छोरोले जागिर पाउँदैन ।
गाउँ मात्रै रित्तिएका छैनन्, सयौँ रोपनी खेतीयोग्य बारी र खेतहरु बाँझै फुटिरहेका छन् ।
मानिसहरु घरबार छोडेर हिँडेपछि गाउँ पनि युद्धले उठेजस्तो देखिन्छ । जता गएपनि ताल्चा ठोकिएका घरहरु देख्दा गाउँको शोभा हराउन थालेको छ । गाउँका खाली जग्गालाई व्यावसायिक रुपमा प्रयोग गर्न सके राम्रो फाइदा लिन सकिन्छ । बाँझो खेतीयोग्य जमिन र प्रयोग विहीन भएका पाखो क्षेत्रमा व्यावसायिक कृषि फार्म सञ्चालनको सम्भावना छ । अहिले उजाड भएका र वस्ती उठेर गएका क्षेत्रहरुमा पनि कृषिजन्य उत्पादनको विकास गर्न सकिन्छ ।

Comments

comments

Comments are closed.