गुल्मीको एक भूकम्पपीडित परिवार भैंसीगोठमा, अहिले सम्म जम्मा १५ हजार र १ त्रिपाल राहत

  •  
  •  
  •  
  •  
  •  

घनश्याम गौतम
गुल्मी, मंसिर ७ । यहाँको दुर्गम खड्गकोट ४ की माया परियारको नौ जनाको परिवार भूकम्पले आधा भत्किएको गोठमा भैंसीसँगै बसेका छन् । घर पूरै भत्किएको छ । आधा बाँकी रहेको गोठ पनि ढल्ने अवस्थामा पुगेको छ ।

विपन्न अवस्थाका परियारको परिवारले गुजारा दैनिक ज्यालामजदुरीबाट चलाएका छन् । ‘अहिलेसम्म १५ हजार रुपैयाँ र एउटा त्रिपाल पाइयो,’ उनले भनिन्, ‘राहत आउँछ भन्थे, खै कहिले आउने हो ?’

भूकम्पलगत्तै पुगेका प्राविधिकले उनलाई घरगोठ दुवैमा बस्न नमिल्ने भन्दै रातो कार्ड उपलब्ध गराएका थिए । तर, उनको परिवार त्यहीं नबसेर अर्को विकल्प छैन ।

खड्गकोट ४ कै ७८ वर्षीया डिला ढकालको अवस्था पनि उस्तै छ । घर पूरै भत्किएपछि भैंसीको गोठ आधा बारबेर गरेर बसेकी छन् । चिसो सुरु भइसकेकाले जाडोयाममा पनि न्यानोमा बस्न नपाइने चिन्ताले पिरोल्दै छ । ‘हातखुट्टा सुन्निन थालिसके,’ उनले भनिन्, ‘गाउँमा प्राविधिक नआउँदा कस्तो घर बनाउने भन्ने थाहा नभएर मर्ने, बाँच्ने पनि टुंगो भएन ।’

भुर्तुङ ५ का ६१ वर्षीय बलिभद्र शर्माले सुरुमा भत्केको घर नजिकैको आँगनमा दुइकोठे छाप्रा बनाए । पानी र घाम छेक्ने छाप्रो बनाउँदैमा १५ हजार रुपैयाँ खर्च भयो । सरकारले राहत दिएपछि घर बनाउने उनको सपना भूकम्पको डेढ वर्ष पुग्दा पनि पूरा भएको छैन । ‘आफ्नै पैसाले बनाउन सकिएन,’ उनले भने, ‘सरकारले देला भनेको सबै झुटा रहेछ ।’ धेरै भूकम्पपीडितले न्यानो कपडा पाउँदा पनि आफूहरू वञ्चित भएको उनले गुनासो गरे ।

भूकम्पले घर भत्किएका गुल्मीका गाउँले अब कस्तो घर बनाउने भन्नेमा पनि अन्योलमै छन् । प्राविधिक विवरण संकलन गर्नबाहेक गाउँ पुगेका छैनन् । ‘राहत नपाए पनि घर हामी आफैं बनाउँथ्यौं’,

खड्गकोटकै यमनाथ ढकालले भने, ‘तर, कस्तो घर बनाउने भन्ने कुनै सल्लाह सुझाव पाइएन ।’ भूकम्पले बढी प्रभावित खड्गकोट, भुर्तुङ, जयखानी, फोक्सिङ र पूर्तिघाटका पीडितले राहत नपाएको पीडासँगै कस्तो घर बनाउने भन्ने अन्योलले काम थालेका छैनन् ।

Comments

comments

Comments are closed.